Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नरेन्द्र रावतलाई कर्णाली हाफ म्याराथनको उपाधि

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावलले जित हाँसील गरेका छन् । शनिबार वीरेन्द्रनगरमा भएको प्रतियोगितामा नेपाली सेनाका रावत प्रथम भएका हुन । यस्तै, नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकेश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरी चौथो भए ।

यस्तै हाफ म्याराथनको महिलातर्फको उपाधि विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) का पुष्पा भण्डारीले जित हाँसील गरिन । २१ किलोमिटर दौडमा एपीएफकी भण्डारीले उपाधि जितेकी हुन । सल्यानकी भण्डारीले एपीएफबाट अन्तर्राष्ट्रिय स्तरका दौडमा उपाधि चुम्दै आएकी छन् । यस्तै, नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो हुँदा जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भईन ।

म्याराथनको विजेता महिला तथा पुरुषलाई समान ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यस्तै, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई समान २० हजार रुपैयाँ नगदले पुरस्कृत गरिएको छ ।
कर्णाली हाफ म्याराथनको उद्घाटन मुख्यमन्त्री यामलाल कँडेलले गरेका हुन । म्याराथनमा एक हजारभन्दा बढी सहभागी भएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । नेपालगञ्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरेको हो । आसन्न १० औँ राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको रेस नेपालले जनाएको छ ।