Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

पाठ्यक्रम परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय

सुर्खेत  :   लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगले पदपूर्ति गर्दा लिने विभिन्न परीक्षाको पाठ्यक्रम पुरानो ढर्राको भएको भन्दै आलोचना भइरहेको बेला कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।

विहीबार सार्वजनिक १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ,लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद प्राविधिक र अप्राविधिकका पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले केन्द्र र प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको पाठ्यक्रममा एकरुपता कायम गर्दै आधुनिक समयको माग अनुसारका कर्मचारी छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नसक्ने प्रकृतिको बनाउनुपर्ने आवश्यकता बोध भएका सुर्खेत सम्मेलनबाट उक्त निर्णय गरिएको बताए । अहिलेको पाठ्यक्रम नराम्रो नभए पनि त्यो अलि परम्परागत खालको भएकाले त्यसलाई परिमार्जन गरेर अझै राम्रो बनाउन खोजिएको अध्यक्ष रेग्मीको भनाइ छ ।

सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २३ र २४ गते आयोजित चौथो सम्मेलनमा लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंसँगै सातै प्रदेशका लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरुको सहभागिता थियो । योग्यता, निष्पक्षता र स्वच्छताको मूल्य मान्यता र सिद्धान्त बमोजिम कार्य सम्पादन गर्न प्रदेश लोक सेवा आयोगका कार्यालयहरुमा कम्तिमा ५० जना कर्मचारीसहितको संगठन संरचना आवश्यक पर्ने निष्कर्ष गत वर्षको सम्मेलनले निकालेको थियो । यस वर्षको सम्मेलनले गत वर्षको सम्मेलनबाट प्रस्तावित त्यो संगठन संरचनालाई कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।