Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

गण्डकी सरकारबाट माओवादीका मन्त्री बर्खास्त


कास्की  :  गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान मन्त्रिमण्डल गरेका हुन ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँले राखेका छन ।

अब गण्डकीको मन्त्रिमण्डल पाँच सदस्यीय भएको छ । पाँचै मन्त्री नेपाली काङ्ग्रेसका छन । माओवादी केन्द्रले भने अब चाडै सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । माओवादी केन्द्र सङ्घबाट हुने प्रदेशको बाँडफाँड र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन पखिइरहेको छ ।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढाले मङ्गलबारै पार्टी संसदीय दलको बैठक बस्ने जानकारी दिए । मुख्यमन्त्रीज्यूले गर्न मिल्ने गरिसक्नुभयो, आज हामी संसदीय दलको बैठक बसेर हाम्रो निर्णय लिन्छौँ,’ उनले भने ।

गण्डकी प्रदेशमा सरकार परिवर्तन परिवर्तनको छलफल पनि सँगसँगै सुरु भएको छ । सरकार बनाउन गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सहज छैन । ६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित कृष्ण धिताल छन । सभामुखले मत बराबरी भएमा मात्र मतदाता गर्न पाउने कानुनी व्यवस्था छ । यसो हुँदा गण्डकीमा साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) निर्णायक हुने अवस्था छ । गण्डकीमा राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन ।

प्रदेश सभामा नेपाली काङ्ग्रेसका २७ सांसद छ । सत्ता गठबन्धनले बहुमत जुटाउन नसके नेपाली कांग्रेसले ठुलो दलको हैसियतमा सरकार गठन गर्ने अवस्था आउन सक्छ । यसरी बनेको कांग्रेस सरकारलाई पनि राप्रपा र एकीकृत समाजवादी दुवै साथ जरुरी हुन्छ ।