जुम्लाका दलबहादुरले जिते रन फर युनिटी
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाको आयोजनामा भएको रन फर युनिटी मा जुम्लाका धावक दलबहादुर कुँवर प्रथम भएका छन । २१ किलोमिटर दौडतर्फ कुँवरले एक घण्टा आठ मिनेटमा दुरी पूरा गरेका थिए । यस्तै, द्वितीय सन्तोषनाथ योगी भए । उनले २१ किलोमिटरको दुरी एक घण्टा ११ मिनेटमा पुरा गरे भने तृतीय भएका आशिष गुरुङले एक घण्टा १२ मिनेटमा पूरा गरेका थिए ।
१० किलोमिटर पुरुष र पाँच किलोमिटर महिलातर्फ जुम्लाबाट सहभागी धावकले उपाधि हात पार्न सफल भएका थिए । १० किलोमिटर पुरुषतर्फ जुम्लाका वीरबहादुर रोकाय प्रथम भए । १० किलोमिटरको दुरी ३१ मिनेट चार सेकेण्डमा पूरा गरे । द्वितीय भएका सन्तोष नेपालीले ३२.०७ मिनेटमा पूरा गरे भने तृतीय भएका अक्कल बुढाले ३२.४४ मिनेटमा पुरा गरे ।
पाँच किलोमिटर छात्रातर्फ जुम्लाकी कल्पना बुढाले पाँच किलोमिटरको दुरी १९ मिनेट ३ सेकेण्डमा पुरा गरेर प्रथम भइन् । द्वितीयमा विमला कार्कीले १८ मिनेट २१ सेकेण्ड र तृतीय उर्मिला खनालले पनि समान समयमा दुरी पार गरेकी थिइन् ।
छात्र पुरुषतर्फ अजय विक प्रथम भए । उनले १५ मिनेट ३० सेकेण्डमा दुरी पुरा गरे । द्वितीय दीपेन्द्र बोहराले १६ मिनेट २० सेकेण्ड, तृतीय भएका सुजन विकले १६ मिनेट २० सेकेण्डमा दुरी पार गरे । १० किलोमिटर महिलातर्फ आशा रावल पहिलो भइन् । उनले ३७ मिनेट २८ सेकेण्डमा दुरी पार गरिन् ।
द्वितीय समिता बुढाले ३७ मिनेट ३३ सेकेण्ड र तृतीय भएकी राज्यलक्ष्मी रावलले ३९ मिनेटमा दुरी पार गरिन् । पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
२१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीय १५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। दौड प्रतियोगिताका विभिन्न विधामा जुम्लाका धावकहरुले सफता हासिल गरेको उत्तरपश्चिम पृतनाका पृतनापति कृष्णदेव भट्टले बताए ।नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा र ओलम्पियन हरिबहादुर राकायलगायतको उपस्थिति रहेको थियो ।