Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्छ :  प्रदेश प्रमुख

सुर्खेत :  कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आईतबार आयोजित ‘मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामािजक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा लाग्न सरकार प्रमुखलाई अनुरोध गरे । यसका लागि तीनै तहका सरकारहरुको आपसी समन्वय र सहकार्यबाट जनताको भवना, चाहाना र आवश्यकता परपूर्ति हुने उनको भनाई थियो ।

 

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार क्रमागत र बहुर्षीय योजनाको भारी बोकेर अगाडि बढिरहेको बताए । उनले सृजनशीलता प्रयोग गर्न नपाईएको गुनासो गरे । उनले भने, केही पनि नभएको भन्ने होइन तर आवश्यकता अनुसारको गति पैदा हुन सकेको छैन यद्यपि कर्णालीको आवश्यकता अनुसार आफूलाई बदल्ने कुरामा हामीले ध्यान दिनुपर्दछ । एकल अधिकार किन कुण्ठित बनाई राखिएको छ भन्नेमा हामी बहस गर्दै आएका छौं ।

पछिल्लो समयमा परिवर्तनप्रति अफवाह फैलाउने काम भईरहेको प्रतिक्रिया दिँदै मुख्यमन्त्री शर्माले प्रतिगामी सोच, चिन्तन र चासो भएकाहरुले प्रदेश आवश्यक छैन भन्न थालेको टिप्पणी गरे । सामान्ती मानसिकताको उपजले घर जमाई राखेको बताएका उनले हात खुट्टा बाँधेर पौडी खेल्न लगाइएको अवस्थामा गर्न नसकिने र यसमा बोल्न मिले वा नमिलेपनि यथार्थता यही भएको उनले जिकिर गरे ।

मुख्यमन्त्री शर्माले भए गरेका गतिविधिहरुलाई पनि भएन भन्ने दृष्टिकोण बदल्न सबैमा अनुरोध गरे । कर्णाली प्रदेशसभा विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको विकास निर्माणको गति हेर्दा कहाली लाग्दो अवस्थामा पुगेको टिप्पणी गरे । उनँले जनसरोकारका विषयहरु पनि एकपछि अर्को बढ्दै गएको बताए । अनुभूति हुनेगरी काम भएको पाईदैन । फोटो टाँसिएपनि विवरण आएपनि जनताका अगाडि त्यसले सबै पुग्दैन । दिन बिताउने गरी सरकारले काम गरिरहेको कटाक्ष गर्दै नेता कँडेलले प्रतिपक्षीका हिसाबले नभई सहयोगी बनेर सरकारलाई सहयोग गरेको दावी गरे ।

समारोहमा प्रदेश सभामुख नन्दा गुरुङले जनप्रतिनिधिहरुको साझा थलोले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताईन् । उक्त समारोहामा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि राखिएको थियो । समारोहमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव, न्यायधीश, जिल्ला तथा नगर प्रमुखहरु, प्रदेश सरकारका सचिवहरुसहितको सहभागिता रहेको थियो ।