Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौँ  :  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे । उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए ।

नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबिच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । “यसका लागि समिति पनि गठन गरिएको छ”, अध्यक्ष अधिकारीले भने, हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।