Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

माओवादी केन्द्रका असन्तुष्ट सांसदहरुले फेरे दलको नेता

धनगढी  :   सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका असन्तुष्ट सांसदहरुले संसदीय दलको नेता फेरेका छन् । दलका बहुमत सदस्यहरुले दलको नेता रहेका खगराज भट्टलाई पदमुक्त गरेर यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेका हुन् । उनी दार्चुला–१ .(२) बाट निर्वाचित सांसद हुन् ।

पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको र उनीहरुलाई फिर्ता बोलाउनुपर्ने भन्दै आएका उनीहरुले आफ्ना मागबारे दलभित्र सुनुवाई नभएपछि बहुमत जुटाएर दलको नेता नै फेरेका हुन् ।

प्रदेशसभामा माओवादी केन्द्रबाट सभामुखसहित ११ सांसद छन् । शुक्रबार ६ जना सांसदले दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बहुमत सांसदहरुको बैठक गरेर भट्टलाई दलको नेताबाट हटाउने र धामीलाई दलको नेता बनाउने निर्णय गरेका हुन् । बैठकमा नेता भट्टसहित ४ सांसद भने अनुपस्थित थिए ।

बैठकमा सांसदहरु शिवसिंह ओली, ओमबिक्रम भाट, गीतादेवी माल र लक्ष्मी बिक सहभागी थिए । सांसद माल अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री छिन् । अनुपस्थित हुनेमध्ये २ जना हाल प्रदेश सरकारका मन्त्री छन् । सामाजिक विकास मन्त्री झपटबहादुर साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी बैठकमा थिएनन् । त्यस्तै, भट्ट पक्षीय सांसद जानकीदेवी कुँवर पनि बैठकमा अुनपस्थित थिइन् ।

सभामुख भीमबहादुर भण्डारीले संसदीय दलको नेता फेरिएको पत्र प्रदेश सभा सचिवालयमा प्राप्त भएको जानकारी दिए । यससँगै सुदूरपश्चिममा हाल रहेका मन्त्री पनि फेरिने चर्चा चुलिएको छ । दुई साताअघि सात जना सांसदहरुले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गरेका थिए ।