राहतको पर्खाइमा भूकम्प पीडित
सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका मिनबहादुर विकको परिवार राहतको पर्खाइमा छ । गएको शुक्रबार आएको भूकम्पले घर चर्किएपछि उनीहरू खुल्ला आकाशमुनि बस्दै आएका छन् ।
अहिले उनीहरू पुरानो त्रिपालमुनि चर्किएको घर नजिकै बारीमा बसिरहेका छन् । ‘घरबाट पुरिएका सामान निकाल्न डर लाग्ने सामान निकाल्न पनि सकिँदैन,’ उनले भने, ‘राहत दिनेले पनि छिटो दिए हुने थियो ।’
भूकम्पले घर क्षति भएका गणेश खत्रीको परिवारले पनि अहिलेसम्म त्रिपाल र अन्य राहत सामग्री पाएको छैन । भूकम्पले उनको घर पूरै भत्किएको छ । ‘यतिका दिन बितिसक्यो, अहिलेसम्म राहत सामग्री पाउन सकिएको छैन,’ खत्री भन्छन्, ‘बाहिरबाट गाडीमा र हेलिकप्टरमा आएको छ भन्छन् तर, हाम्रो हातमा परेको छैन ।’
यता नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतले सोमबारदेखि प्रभावित क्षेत्रमा राहत पुर्याउन थालिने बताए । ‘हाम्रो पालिकामा ९० प्रतिशत घरका मानिस बाहिर बस्नुपर्ने अवस्था छ, आइतबारसम्म घाइतेहरूको उपचार र दाहसंस्कारमा व्यस्त भयौं,’ रावतले भने, ‘अबदेखि राहत वितरणको काममा ध्यान दिन्छौं । केही ठाउँमा त्रिपाल पठाइसकेका छौं, अरूमा पनि जाने क्रम सुरु हुन्छ ।’
उनका अनुसार अहिलेसम्म पालिकामा ७४५ त्रिपाल तथा त्यस्तै मात्रामा अरू सामान पुगेका छन् । आवश्यकताअनुसार भने सामग्री आइ नपुगेको उनले बताए । आफूले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री छिटो पठाइदिन आग्रह गरेको मेयर रावतले बताए ।
यता बारेकोट गाउँपालिका प्रमुख विरबहादुर गिरी राहतसँगै मनोपरामर्शको पनि जरुरी रहेको बताउँछन् । सरकारलगायत विभिन्न क्षेत्रबाट आएको राहत सामग्री भने सदरमुकाम खलंगामा थन्किएको छ । सदरमुकाममा ती राहत बुझ्ने काम प्रशासन र स्थानीय तहले गरिरहेका छन् । तर पीडीत सम्म पुग्न सकेको छैन ।