Loading... आजः मङ्लबार, कार्तिक २०, २०८१
Trending

भूकम्पले २० हजारभन्दा बढी घरमा क्षति


जाजरकोट  :   गत शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका सयौँ गाउँबस्ती उजाड बनाइदिएको छ । विशेषगरी भूकम्पको केन्द्रविन्दुमा रहेका बस्ती पूर्ण रूपमा ध्वस्त भएका छन्, जहाँका मान्छे अहिले भत्किएको आफ्नो जायजेथा हेर्दै खुला आकाशमुनि दिन बिताउन बाध्य छन् ।

जाजरकोटको भेरी नदी आसपासका चिउरी, छेपारे लगायतका बस्ती भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भएका छन् । छेपारे रुकुम पश्चिमको पनि पश्चिम क्षेत्रमा पर्ने आठबिसकोट नगरपालिका–१४ को गाउँ हो । यहाँ करिब ४० घर थिए । ती सबै घर पूर्ण रूपमा ध्वस्त बनेको स्थानीय प्रदिप विक बताउँछन् ।

यो बस्तीका ११ जनाको भूकम्पमै परी ज्यान गयो । जसका कारण गाउँ शोकमा छ भने नागरिकहरू बारीमा त्रिपाल टाँसेर बसिरहेका छन् । यो त एउटा प्रतिनिधिमुलक घटनामात्रै हो । भूकम्पले क्षति पुर्‍याएको आज पाँच दिन भइसक्यो । अहिलेसम्म प्राप्त विवरण अनुसार कर्णालीका २० हजार ८८८ घरमा भूकम्पले क्षति पुर्‍याएको छ । जसमध्ये ५ हजार ५१६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पले कर्णालीका रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, कालिकोट, जुम्ला र सुर्खेतमा असर पुर्‍याएको छ ।