Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कान्तीपुर बिरुद्ध अनिश्चितकालीन आन्दोलनको घोषणा


काठमाडौँ  :  नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

आन्दोलन स्वरूप महासंघले भोलि दिउँसो ३ देखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको छ । ‘कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई बहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनको लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो,’ पत्रकार महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघले उक्त आन्दोलन श्रमजीवी पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने बताएको छ । व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्बहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनलगायत मागहरू अविलम्ब पूरा गर्न कान्तिपुरसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको महासंघको भनाइ छ ।