राष्ट्रिय बाणिज्य बैकको एटीएम तोडफोड
दैलेख : राष्ट्रिय बाणिज्य बैककोको एटीएम तोडफोड भएको छ । एटीएमबाट रकम चोर्ने उद्देश्यले तोडफोड भएको जिल्ला प्रहरी कार्यालय र्दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपकसिंह बिष्टले मंगलवार राती एटिएम राखिएको सटरको ताला फोडेर एटीएमको बाहिरी मनिटर झिकी रुपैंयाँ राखिएको ठाउँसम्म पुग्न लागेको बेला प्रहरीको गस्ती टोली पुगेको आंशकामा तोडफेड गर्ने ब्यक्ति भागेको बताए ।
सटर खोली भित्र पस्दा सुरुमै सीसीटीभी क्यामेरा अर्कोतिर फर्काएको सीसीटीभी फुटेज रेकर्ड भएको प्रहरीले जनाएको छ । सीसीटीभी क्यामेरा अर्कोतिर फर्काएर एटीएमको मनिटर बाहिर झिकेको लगतै नियमित प्रहरी गस्ती नजिकै पुगेको चाल पाएर एटीएम तोडफोड गर्ने व्यक्ति भागेको बताइएको छ ।
रुपैंयाँ राखेको सतहमा पुग्नै लाग्दा चोरी हुन लागेको थाहा नपाएरै पुगेको गस्तीको प्रहरी टोली नजिकै पुगेपछि तोडफोड गर्ने व्यक्ति भागेको तर सीसीटीभी फुटेज रेकर्डको आधारमा प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी गरिरहेको प्रहरी निरीक्षक बिष्टले बताए ।
एटीएममा राखिएको रकम दुरुस्तै रहेको तर एटीएम मेसिन चाहिँ सञ्चालन हुन नसक्ने गरी क्षति पुगेकोले मर्मतका लागि केन्द्रीय कार्यालयबाट प्राविधिक टोली आउने तयारी भएको राष्ट्रिय बाणिज्य बैंक दैलेखका प्रबन्धक कृष्णप्रसाद उपाध्यायले जानकारी दिए ।