बेपत्ता भएका आमा छोरा नेपालगञ्ज भेटिए
कालिकोट : कालिकोट सदरमुकाम मान्मबाट बेपत्ता भएका आमा छोरा नेपालगञ्जमा भेटिएका छन् । श्रीमानसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंशमुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका थिए ।
बिहीबारदेखि वेपत्ता भएका उनीहरू नेपालगञ्जस्थित कारकादोमा रहेको एक होटलमा नास्ता खाने क्रममा भेटिएको पुष्टी जिल्ला प्रहरी कार्यालय कालिकोटले गरेको छ । मान्म बजारमा व्यववसाय गर्दै आएकी जैसी भगवतीमाई(५ कट्टीका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका भएको थियो ।
नेपालगञ्ज पुगेकी शाहीले कालीकोटमा रहेकी भाउजुसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले जानकारी दिए । उनकाअनुसार बाँके प्रहरीले नियन्त्रणमा लिएर कालीकोट पठाउने तयारी गरिरहेको छ । आफन्तलाई अपहरणमा परेको भने पनि कालीकोट ल्याएपछि सबै प्रस्ट हुने जोशी बताउँछन् ।
शुक्रबार बिहान ३ बजेतिर चर्पी जान ढोका खोलेको बेला ३ जनाले केही सुँघाएर आफूलाई बेहोस बनाइ अपहरण गरेको उनले फोनमा सुनाएको सुवेदीले बताइन् ।पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर आएपछि प्रहरी खोजीमा सतर्क भएको डीएसपी अर्जुन केसीले बताए । आमाछोरा बेपत्ता रहँदा उनको मोबाइल कोठामै भेटिनुले घटना रहस्यमय बनाएको छ ।
अदालतमा अंश र सम्बन्धविच्छेदको मुद्दा हालेकी गीतालाई उनका पति दानबहादुरले कुटपिट गरेर यातना दिने गरेको आफन्तले बताए । दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुर प्रहरी हिरासतमा छन् ।साभार