१२ बजेपछि दुर्गममा उडान हुने
काठमाडौँ : पहाडी तथा हिमाली जिल्लामा हुने अतिरिक्त सयमका अवस्थित उडानलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थप कडाइ गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, बिहीबारदेखि नै लागू हुनेगरी प्राधिकरणले दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान÷अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ ।
उड्डयन भाषामा साना जहाजका लागि तोकिएको मौसम अनुकुलतालाई मेट्रोलजिकल कण्डिसन मिनिमा (भीएमसी मिनिमा) भनिन्छ । जहाजलाई आवश्यक पर्ने तोकिएको दूरीसम्म ककपिटबाट आँखाले हेर्दा देखिने दूरी सफा रहेको सुनिश्चित गरेर मात्रै जहाजका कप्तान पाइलट र उडान सञ्चालन गर्ने वायुसेवाका डिस्प्याचरले उडानयोग्य मौसम भएको लिखित घोषणा विमानस्थलमा अनिवार्य बुझाउनुपर्ने छ । अनि मात्रै अतिरिक्त समयमा उडान अनुमति दिइने छ ।
त्यस्तै प्राधिकरणले दबाबमा उडान गर्न पाइलटहरू बाध्य नहुन् भनेर भिजिबिलिटी सुनिश्चितता भइसकेपछि पाइलटहरू पनि पूर्ण रूपमा सन्तुष्ट भएको हुनुपर्ने भनेको छ । यदि पाइलट इन कमान्ड (प्रमुख पाइलट) लाई मौसम प्रतिकूल लागेर असन्तुष्ट भएमा उडान गर्ने÷नगर्ने निर्णय उनीहरूमै निर्भर रहने प्राधिकरणको भनाइ छ ।