Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज


काठमाडौँ  :  ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरुलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरु तत्कालीन सहसचिवद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहितका १९ जना आरोपितले नेपाल प्रहरीलाई प्रतिवादी बनाएर दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरेको हो ।

रिटको पक्षमा गत वर्ष साउनमा जारी अन्तरिम आदेशसमेत सर्वोच्चले खारेज गरिदिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत वर्ष आरोपितहरुको मागबमोजिम अन्तरिम आदेश दिएकोमा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । यो सँगै जग्गा हिनामिना प्रकरणका आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुलेको छ ।
गत वर्षकै अन्तरिम आदेशलाई देखाएर तत्कालीन सहसचिव देउजासहितका केही आरोपित प्रहरीले पक्राउ गरे लगत्तै छुटेका थिए । सीआईबीले ललित निवासको करिब १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा २०४९, २०६२, २०६६/६७ र २०६९ का विभिन्न निर्णयमा संलग्न कर्मचारी, व्यापारी, विचौलिया, तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका हकदारलगायतलाई अनुसन्धानको दायरामा राखेको छ ।