Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

रुपैयाँ ठगेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्ष पक्राउ


सुर्खेत   : वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोद सिंह विष्टलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार विष्टलाई आइतबार दिउँसो प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा शनिबार दुई जना पक्राउ परेका थिए । पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रवक्ता शाहीले जानकारी दिए । वडाध्यक्ष विष्टमाथि थप अनुसन्धान भइरहेको शाहीको भनाइ छ ।