Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुझाव संङ्कलन गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा कार्यको लागि सुझाव संकलन गरेको छ । यसका लागि प्रदेश सरकारले सरोकारवाला निकायसँग वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको हो ।
कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, नागरिक समाज, सङ्गठित सङ्घसंस्था, आमसञ्चार एवं सर्वसाधारणलाई सूचनामार्फत आवश्यक राय, सुझाव मागेको थियो । सूचनाअनुसार धेरै राय, सुझाव र सल्लाह आएको र ती सबै समेटेर प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘हामीले प्राप्त गरेको राय, सुझावका आधारमा कर्णाली प्रदेशको समृद्धि र विकासमा सहयोग पुग्ने नीति तथा कार्यक्रम बन्छ र सोही बमोजिम बजेट आउँछ’ जिसीले भने, यसका लागि हामीले बस्ती स्तरदेखि माथिल्लो निकायसम्मका सबै सरोकारवालाबाट आवश्यक सल्लाह लिएर नीति तथा कार्यक्रम तर्जुमाको कार्यलाई तीव्रता दिएका छौँ ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश सरकारको नीति तथा कार्यक्रमको लागि सरोकारवाला निकायको सुझाव सङ्कलन गरिएको जानकारी दिए । अहिलेसम्म मुख्यतः तीन क्षेत्रमा जोड दिएर सुझाव आएको उनले बताए । यसरी आएका सुझावहरूमा पहिलो रोजगारी, दोस्रो पूर्वाधार विकास र तेस्रो कर्णालीमा जनशक्तिको व्यवस्थापन तथा क्षमता विकास रहेको उनले बताए ।
कर्णालीको आवश्यकता सम्बोधन गर्ने सुझावलाई प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समेटिने जनाउँदै उनले विगतका वर्षभन्दा अहिले नवीन अभ्यास थालिएको पनि बताए । आगामी आवको बजेटको आकार कस्तो र कत्रो बनाउने भन्ने तयारीमा लागिरहेको उनको भनाई थियो ।