Loading... आजः सोमवार, असार ४, २०८१
Trending

प्रधानाध्यापक नबनाएको भन्दै पठनपाठन बन्द


दैलेख  :   आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै विद्यालयका शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरि प्रसाद शर्माले लगायतका आठ जना शिक्षकले वैशाख ३१ गते देखी विद्यालयको पठनपाठन बन्द गरेका छन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयका माध्यमिक तह(राहत) शिक्षक मन बहादुर बुढालाई गत माघ १४ गते प्रधानाध्यापक बनाउने निर्णय गरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पत्र पठाएको भए पनि विद्यालय व्यवस्थापन समितिलाई शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका निम्न माध्यामिक तहका शिक्षक स्थायीलाई प्र अ बनाई काम काज गर्न भनी पत्र लेखेपछि सिर्जना भएको विवादका कारण विद्यालयमा समस्या भएको छ ।
मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मन बहादुर बुढाले गाउँ शिक्षा समितिले विद्यालयमा अनावश्यक राजनीति गरेका कारण विद्यालयमा समस्या सिर्जना गरेको बताए । उनले विद्यालयको प्रधानाध्यापकका लागी उच्च अदालत सुर्खेतमा उजुरी दिएको भए पनि उच्च अदालत सुर्खेतले विद्यालयमा माध्यमिक तहको शिक्षकको व्यवस्था गरी प्रधानाध्यापक नियुक्त गर्नु भन्ने आदेश गरेको भए पनि निम्न माध्यमिक तहका शिक्षक हरि प्रसाद शर्मालाई नै प्रधानाध्यापक बनाउनु भनेर विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएपछि समस्या भएको बताए । उनले भने आफूलाई प्र अ बनाउनु पर्ने माग राखेर पठनपाठन बन्द गराएका आठ जना शिक्षक मध्ये तीन जना काममा फर्किएको र पाँच जना विद्यालयमा नआएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र दहालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई चुनौती दिँदै पालिकाले निम्नमाध्यामिक तहका शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्नु भनी पत्र लेखेपछि समस्या बढेको बताए । उनले माध्यमिक तहमा स्थायी शिक्षकको दरबन्दी नभएका कारण राहत दरबन्दीमा रहेका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको बताए । उनले भने प्रधानाध्यापकको जिम्मेवारी दिएपछि गाउँपालिकाले गैर जिम्मेवारी पन देखाएर विद्यालेको खाता समेत रोक्का गरेको छ ।
महावु गाउँपालिकाका कार्यबहाक अध्यक्ष एवम् गाउँ शिक्षा समितिका अध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डेले मालिका माध्यमिक विद्यालयमा लामो समय देखी विवाद भइरहेको र त्यसको समाधानका लागी गाउँपालिकाले छिटै निर्णय गर्ने जानकारी दिइन । उनले जिल्ला प्रशासन कार्यालयमा भएको सहमति बमोजिम गाउँ शिक्षा समितिले निर्णय गरेर प्रधानाध्यापक तोक्ने जानकारी दिइन । । उनले भनिन महावु गाउँपालिका भरी दुई वटा मात्र माध्यामिक तहको शिक्षक दरबन्दी रहेको बताउँदै तत्काल माध्यामिक तहको शिक्षक त्यहा पठाँउन नसकिने उको भनाईछ ।
फोटो क्याप्सन ः विद्यालयको पठनपाठन बन्द गरेका शिक्षकको हाजिरी र विज्ञप्ति । तस्बिर कमल शर्मा