एक वर्ष देखी विद्यालय भवन अलपत्र
दैलेख : दैलेखको महावु गाउँपालिका–३ बासीमा रहेको भगवती आधारभूत विद्यालयको चार कोठे भवन एक वर्ष देखी अलपत्र परेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९ चार कोठो भवन निर्माणका लागी गत पुस महिनामा सम्झौता गरी निर्माण सुरु गरिएको भवन एक वर्ष देखी अलपत्र परेको हो । विद्यालयकै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको लापरबाहीका कारण विद्यालय भवन अलपत्र परेको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिले स्थानीय ठेकेदारलाई भवन निर्माणको जिम्मा दिएको भए पनि ठेकेदारले आधा काम गरेरै १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन अलपत्र परेको हो ।
सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख भीम प्रसाद पोखरेलले गत आर्थिक वर्षमा चार कोठे विद्यालय भवन निर्माणका लागी बजेट आएको र त्यसै अनुसार विद्यालयलाई १६ लाख पेस्की दिएको बताए । उनले विद्यालय भवन निर्माणका लागी पेस्की दिएको भए पनि विद्यालयले पेस्कीको पछ्यौट समेत नगरी भवन अलपत्र पारेको बताए । उनले भने विद्यालयलाई पेस्की रकम पछ्यौट र विद्यालयको भवन निर्माण गर्न ताकेता समेत गरिएको छ ।
भगवती आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष बिष्णुसिह मल्ले विद्यालय व्यवस्थापन समिति, र प्रधानाध्यापकको लावारबाहीका कारण विद्यालय भवन अलपत्र पारेको बताए । उनले अभिभावकलाई समेत जानकारी नदिएर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ठेकेदारलाई काम गर्न लगाएको र ठेकेदारले पेस्की बापत दिएको १६ लाख रुपैयाँ लिएर काम अलपत्र पारेको आरोप लगाए । उनले भने १६ लाख बराबरको काम पनि भएको छैन डिविसी गरेर पिल्लर उठाएर सेटिङको सामान जोडेर अलपत्र पारिएको छ ।
भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक भण्डारी ठेकेदारलाई विश्वास गरेर १६ लाख भुक्तानी गरिएको बताए । उनले स्थानीयलाई भवन निर्माणका लागी जिम्मा दिएका हौँ उहाँले भवन निर्माणका लागी आवश्यक सामाग्री खरिद गर्ने भन्दै रकम लिएको र काम अधुरो छोडेको बताए । उनले भने भवन निर्माण गर्न ताकेता गरेका छौ र बाँकी फ्रिज भएको रकम मागका लागी सामाजिक विकास मन्त्रालय सँग माग गर्न लागेका छौ ।