दलबहादुर र मञ्जुलाई जुम्ला–रारा म्याराथन उपाधि
जुम्ला : जुम्ला(रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जितेका छन । कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको ४९ किलो मिटरको दुरी दलबहादुरले चार घण्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घण्टा ६ मिनट २३ सेकेन्डमा पूरा गरेका थिए । उपाधिसँगै दुवै जनाले एक लाख रुपियाँ पुरस्कार पाएका छन ।
धीरबहादुर बुढा दोस्रो र सेरबहादुर बुढा तेस्रो भए । महिलातर्फ गणना भण्डारी दोस्रो र अनिता बुढा तेस्रो भइन । दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ र ५० हजार रुपियाँ पुरस्कार पाए । म्याराथनमा पुरुषतर्फ ६१ र महिलातर्फ १० जना खेलाडीले भाग लिएका थिए । जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भएको म्याराथन डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुँदै रारा तालको २९८० मिटर उचाइमा रहेको हुटुमा पुगेर सकिएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए ।