Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सिंहदरबार नछोड्दा दुर्गमका स्थानीय तह खाली : मन्त्री मोदी


काठमाडौँ :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीहरु खटाएको ठाउँमा नगएर सुगम क्षेत्र मात्र रोज्ने गरेको बताएका छन् । उनले खटाएको ठाउँमा नजाने र गए पनि स्थानीय तहले हाजिर नगराउने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि प्रकट गरे । प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै मन्त्री मोदीले मन्त्री, पूर्वमन्त्री, सांसद, उच्च तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी रोज्ने गरेकाले सरुवा प्रभावित हुने गरेको बताए । उनले कर्मचारी सिंहदरबार घुमेर बस्न चाहने भएकोले दुर्गमका स्थानीय तह खाली रहेको बताए । विभिन्न पार्टीबाट जितेका सांसद, मेयर र अध्यक्षहरुले कर्मचारी रोज्ने गरेका छन्, मोदीले प्रश्न गरे, रोजेका दुई हजार पठाउने हो भने संघका ५३ हजारमध्ये बाँकी ५१ हजार कर्मचारी कहाँ लैजाने ,’ स्थानीय तह, प्रदेश र संघमा रोजेको कर्मचारी पठाउने दबाब रहेको उनको भनाइ छ ।

संसद्‌मा संघीय मन्त्रालयको विषयमा प्रश्न उठेकाले प्रस्ट पार्न चाहेको भन्दै मोदीले आफू मन्त्री भएको तीन महिना पुग्नलाग्दा संघीय मामिला मन्त्रालयका धरै विषय जानकारी भएको प्रसंग जोड्दै संघीय निजामती ऐनको मस्यौदा अर्थ र कानुन मन्त्रालयमा पुगेको जानकारी दिए । उनले ६ वर्षदेखि अड्किएको ऐन निर्माण अहिले रोकियो भने झन् समस्या हुने बताए । निजामती ऐन अहिले जे प्रस्ताव गरिएको छ त्यसलाई स्वीकार गरेर भविष्यमा परिवर्तन गर्दै जान सकिने धारणा राख्दै उनले कर्मचारीको सरुवा प्रणालीमा सुधार ल्याउन चाहेको बताए ।उनले मन्त्री, सांसद, प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी पठाउन दबाब दिने गरेको बताए । एउटा कर्मचारीलाई पठायो भने अर्को समूहलाई चित्त नबुझेर अनुशासनमा बस्ने गरेको उदाहरण पेस गरे ।