Loading... आजः आइतवार, भदौ २१, २०८३
Trending

बलात्कार कसूरमा सात वर्ष कैद

दैलेख  :  २० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले मंगलवार भगवतीमाई गाउँपालिका–२ रुम गाउँका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई पचास हजार रुपैंयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैंयाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

दुई वर्ष अघि २०७७ फागुन १६ गते गोठाला गएकी युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले घटनाको भोलिपल्ट फागुन १७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजूरीका आधारमा त्यही दिन प्रहरीले पक्राउ गरेको थियो । कसूरदार मोहन बुढा मध्यपहाडी राजमार्गको सडक निर्माणको काममा प्रयोग हुने पानी लिन भनी कट्टी खोलामा ट्यांकर लिएर गएको बेला एक्लै फेला पारेर बलात्कार गरेको भनी पीडित पक्षले उजुरीमा खुलाइएको थियो ।

प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी कार्यालय मार्फत चैत १२ गते बलात्कबार कसूरमा अभियोग पेश गरेको र त्यही दिन भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपित पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।