करार शिक्षक हटाउँदै दुल्लू नगरपालिका
दैलेख : दैलेखको दुल्लू नगरपालिकाले पनि अस्थायी, करार र ज्यालादारीमा रहेका ६७ जना शिक्षकलाई एकैपटक हटाउन लागेको छ । आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी त्यस्ता शिक्षकलाई हटाउने तयारी गरिएको छ । खर्च धान्न नसकेको भन्दै नगरपालिका तथा वडास्तरबाट व्यवस्वस्थापन भएका सामुदायिक विद्यालयहरूका शिक्षक तथा कर्मचारीहरूलाई हटाउन लागिएको हो ।
नगरपालिकाले संघीय सरकारबाट आउने समानीकरण अनुदानबाट बजेट व्यवस्थापन गरेर करार तथा ज्यालादारी शिक्षक र कर्मचारी भर्ना गरिएको थियो । तर यसरी गरिएको खर्च बेरुजु देखिएपछि पालिका अहिले समस्यामा परेको छ । जसका कारण अन्य स्रोतबाट खर्च व्यवस्थापन गर्न नसकिने भन्दै शिक्षक तथा कर्मचारी नै हटाउने निर्णयमा पालिका पुगेको हो । आन्तरिक आम्दानी ज्यादै न्यून भएको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिएकाले हटाउनु परेको नगरप्रमुख भरतप्रसाद रिजालले जनाए । महालेखा परीक्षकको कार्यालयको परिपत्र अनुसार सूचना जारी गरी त्यस्ता शिक्षकलाई बिदा गर्न लागिएको उनको भनाइ छ ।
अस्थायी र करार शिक्षक हटाएर दरबन्दी मिलान गर्ने योजना नगरपालिका रहेको शिक्षा शाखा प्रमुख विकासजंग शाहीले बताए । उनका अनुसार दुल्लूमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या पनि बढी छ । प्राथमिक तहमा अन्य तहको तुलनामा ५० शिक्षक धेरै छन् । निम्न माध्यमिक तहमा विद्यार्थी अनुपातमा शिक्षक कम छन् । तहगत रूपमा शिक्षक विद्यार्थीको तालमेल नमिलेको उनले बताए । दरबन्दी मिलान र विद्यालय मर्ज गर्नुपर्ने विषयमा छलफल भइरहेको समेत जानकारी दिए ।
समानीकरण अनुदानबाट खर्च बेहोर्ने गरेर करारमा शिक्षक तथा कर्मचारी नियुक्त गरिएका सबै पालिकालाई अहिले करारका कर्मचारी बोझ भइरहेका छन् । धेरैजसो पालिकामा आवश्यकता अनुसार नभइ पहुँचका करारमा कर्मचारीहरू राख्ने गरेको गुनासो सुनिन्छ ।