Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

दैलेख  :  दैलेखको नारायण नगरपालिका भित्र बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेको नागरिकलाई निस्सा वितरण गरिएको छ । लामो समय देखी सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले निस्सा वितरण गरेको हो । भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूका लागी नारायण नगरपालिकालेले जारी गरेको सूचना अनुसार निवेदन दिएका तीन सय ४ जनाको पहिचान गरी निस्सा वितरण गरेको भूमि आयोग जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका विज्ञ सदस्य बखत कटुवालले नारायण नगरपालिकामा रहेका र हाल सम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गरिएको जानकारी दिए । उाले नारायण नगरपालिकामा भूमिहीन समस्या भएका ५७ जना,सुकुम्वासी भएका १५ जना र अव्यवस्थित बसोबास गरिरहेको दुई सय ३२ जनालाई निस्सा वितरण गरिसकेको जानकारी दिए । उनले भने भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई निस्सा वितरण पश्चात् नारायण नगरपालिकाले कार्यपालिका बैठक बाट निर्णय गरी राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय समितिलाई पत्र पठाए पछि काम अगाडी बढ्ने छ ।
नगरपालिकाले निर्णय गरी पठाए लगत्तै राष्ट्रिय भूमि आयोग जिल्ला समितिले सात दिने हक दाबी सूचना प्रकाश गर्ने र सुकुम्वासीहरूको तीन पुस्ते बुझनका लागी मालपोत कार्यालय पत्र लेखि पठाए पछि जग्गा नाप जाँचको काम सुरु हुने विज्ञ सदस्य कटुवालले जानकारी दिए । उनका अनुसार दुल्लु नगरपालिकामा निवेदन संकलन गरी कम्प्युटर प्रविष्ट गर्ने काम भइरहेको छ भने अन्य पालिकाहरुमा वडा बाट सिफारिस भई गाउँपालिकामा निवेदन संकलन भइरहेको र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा अहिले सम्म सूचना प्रकाशन हुन सकेको छैन ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नगरपालिकाले प्रकाशन गरेको भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूका निवेदन संकलन,कम्प्युटर प्रविष्ट र निस्सा समेत वितरणको काम सम्पन्न भए सँगै कार्यपालिकाको बैठक बाट तत्काल निर्णय गरी भूमि आयोग जिल्ला समितिलाई जानकारी गराउने काम छिटै हुने बताए । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरिरहेको नागरिकहरूले लामो समय पछि निस्सा वितरणको प्रमाणपत्र पाए सँगै लालपुर्जा पाउँनेरमा ढुक्क भएका छन् ।