दुई रोपनीमा लगाइएको अफिम खेती नष्ट
दैलेख : इलाका प्रहरी कार्यालय दुल्लुले दुई रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । दुल्लु नगरपालिका –५ का विभिन्न स्थानमा अफिम खेती गरेको गोप्य सूचनाका आधारमा दुई रोपनी जमिनमा लगाइएको करिब तीन हजार पाँच सय बोट नष्ट गरिएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले अफिम खेती गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली गएर नष्ट गरिएको जानकारी दिए । उनले दुल्लु नगरपालिकाका अन्य वडाहरूमा समेत प्रहरीले निरक्षण गर्ने तयारी समेत गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले जिल्लामा लागु औषध प्रयोगको जोखिम बढ्दै गएपछि दैलेखका सिमानाकामा समेत चेकजाँच कडाइ गरिएको बताए । उनले जिल्लामा वा जिल्ला बाहिर बाट आउन सक्ने जोखिमलाई मध्यनजर गरी प्रहरीले चेकजाँच सुरु गरेको बताए । उनले भने दैलेख सदरमुकाममा समेत गोजीमा राखेर खुलम खुल्ला बिक्री गरेको सूचनाका आधारमा समेत प्रहरीले नारायण नगरपालिका –८ तर्ताङका २५ वर्षीय दीपक थापालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
त्यस्तै जिल्लामा रहेका विभिन्न प्रहरी चौकीले गाँजा खेती,अफिम खेती, घरेलु मदिरा नष्ट अभियानै सञ्चालन गरिएको प्रहरी प्रमुख लम्सालले जानकारी दिए । उनले भने प्रहरी चौकी भैरवी,जम्बुकाँध बाट खटिएको प्रहरी टोलीले एक सय पाँच लिटर मदिरा,दुई सय लिटर कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाँडा समेत नियन्त्रणमा लिएका छौँ ।