Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

यूएईविरुद्ध नेपालको १७७ रनको जित

काठमाडौं  :  आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा यूएईलाई एक सय ७७ रनले पराजित गरेसँगै दुई खेल अगावै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा दुई सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि शानदार बलिङ गरेका ललित राजवंशीले ७.५ ओभरमा २० रन खर्चेर दुई मेडनसहित सर्वाधिक पाँच विकेट लिए। यस्तै, सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्शन झाले एक–एक विकेट लिए।

नेपालको कसिलो बलिङसामू सम्हालिन नसकेको यूएईका लागि आयान खानले २९ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पहिलो इनिङमा रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले यूएईलाई दुई सय ४९ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ४८ रनको योगफल तयार गर्‍यो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए।

भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। रोहित एक सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्शन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले।

ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउटमा हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पभिलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्के। यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए।

दुई खेल अगावै एकदिवसीय मान्यता जोगाउन सफल भएको नेपालले यो जितसँगै शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ। आजको खेलमा पराजित भएसँगै यूएईले एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्र बाँकी छ।