Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

उपराष्ट्रपति निर्वाचनमा चारैजनाको उम्मेदवारी कायम


काठमाडौं :  उपराष्ट्रपति निर्वाचनमा चारजनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चारजनाको उम्मेदवारी कायम रहेको जनाएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी यादव,नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनोनयन दर्ता भएको थियो । आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा उनीहरू चारैजनाको उम्मेदवारी कायम रहेको छ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरूषको उम्मेदवारी परेको भन्दै उपराष्ट्रपतिको उम्मेदवार नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका थिए। तर, निर्वाचन आयोगले यादवको उम्मेदवारी कायम रहने निर्णय गरिसकेको छ।

आयोगले यादवको उम्मेदवारी कायम रहने बताए पनि जसपाले आफ्‍ना पार्टीका दुवै उम्मेदवारको उम्मेदवारी कायमै राखेको छ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको थियो।