विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार पाँच सयले पाए सेवा
दैलेख : दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार पाँच सय ४२ नागरिकले सेवा लिएका छन् । भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र नेपालगञ्ज मेडिकल बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उक्त सेवा लिएका छन् ।
भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले दुई दिन सम्म सञ्चालन भएको शिविरमा जनरल मेडिसिनमा पाँच सय १६ जना ,स्त्रीरोग सेवा सम्बन्धी तीन सय ७० जना ,छाला रोग दुई सय १८ जना,नाक कान घाटी जाँचमा दुई सय ९५ जना,अल्ट्रासाउन्ड चार सय २३ जना,ई सिजी मुटु रोगमा ५५ जना,रगत जाँच दुई सय २२ जना,कानको सुनुवाइ जाँच ४५ जना,हाड तथा नसा रोग चार सय जना गरी दुई हजार पाँच सय ४२ जनाले सेवा लिएको जानकारी दिए ।
उनले गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरिएको जानकारी दिए । उनले भने दुर्गम गाउँका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न २० लाख रकम खर्च गरिएको छ ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई सुर्खेत नेपालगञ्ज पुगेर स्वास्थ्य जाँच गर्न समस्या हुने हुँदा पालिकाको समन्वयमा दुई दिने विशेषज्ञ शिविर राखेको बताए । उनले नागरिकहरूले घर आँगनमै विशेषज्ञ चिकित्सक सँग स्वास्थ्य जाँच सँगै परामर्श पाएको बताए ।