नारायण बहुमुखी क्याम्पसमा छात्रावास
दैलेख : नारायण बहुमुखी क्याम्पसमा निर्माण गरिएको छात्रावासको उद्घाटन गरिएको छ । नारायण नगरपालिकाको तीस लाख रकममा निर्माण भएको छात्रावास भवनको बुधवार नगर प्रमुख लोमन शर्माले उद्घाटन गरेका हुन । भवनको उद्घाटन गर्दै नगर प्रमुख लोमन शर्माले क्याम्पसमा पढ्ने विद्याथीहरु मध्ये आर्थिक अवस्था कमजोर भएका छात्रा विद्यार्थीलाई बस्न सहजका लागी छात्रावास निर्माण गरिएको बताए । उनले छात्रा बासको घेर वार र फर्निचरको व्यवस्थापनका लागी आर्थिक वर्ष २०७९÷०८० मा दुई लाख रकम समेत विनियोजन गरेको जानकारी दिए ।
नारायण बहुमुखी क्याम्पसका प्रमुख नर बहादुर शाहीले निर्माण भएका छात्रावासमा चार कोठा रहेको र तीन कोठामा मात्र बस्न सकिने बताए । उनले क्याम्पसमा पुस्तकालय,खानेपानी,खेलकुद लगायतका सेवा सुविधा क्याम्पसले प्रदान गर्दै आएको बताए । उनले भने चार कोठा छात्रावास भवनमा अहिले निःशुल्क नौ जना छात्राहरू बसेको बताउँदै आगामी दिनमा न्युनत्तम शुल्क निर्धारण समेत गर्छौँ ।
नारायण बहुमुखी क्याम्पसमा स्वबीयु सभापति रेखा थापाले आफ्नो कार्यकालमा छात्रावास भवन निर्माण गर्न विभिन्न निकाय सँग समन्वय गरी उक्त भवन निर्माण गरिएको बताइन । उनले स्वबीयु निर्वाचनका बेला आफ्नो चुनावी एजेन्डा बनाएको र आफ्नै कार्यकालमा भवन सम्पन्न गरेको बताइन । उनले भनिन छात्रावासको तला थपका लागी कर्णाली प्रदेश सरकार सँग समन्वय समेत गरिरहेको र छिटै निर्माण गर्ने सोचमा छौ ।