Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

छोरी हत्या गरेको कसुरमा आमालाई जन्मकैद


दैलेख  :  तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ । दाङ जिल्लाको घोराही नगरपालिका १२ रतनपुरका प्रवीण सार्कीसँग विवाह गरी गुराँस गाउँपालिका –२ लम्चुरीमा माइती घरमै बस्दै आउनुभएकी २२ हरिकला रावललाई उक्त फैसला सुनाएको हो ।
तीन वर्षीय छोरी मुना सार्कीलाई विष खुवाई हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले मुलुकी अपराध संहिताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय सुनाएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
घरमा असमझदारी भएपछि माइतीघरमा बस्दै आउनुभएकी हरिमायाले भाउजूसँगको विवादमा पीडा बोध गरी आफू र छोरी सँगै मर्ने उद्देश्यले २०७८ माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको ‘मेटासिटड’ विषादी खाएकोमा उपचार चल्दै गर्दा फागुन ४ गते छोरीको ज्यान गएको थियो । माइतीमा बसेको बेला अरू कुनै बहानामा नाबालिगलाई विष खुवाइ हत्या गरिएको घटना क्षमायोग्य नहुने भन्दै हरिमायाकी सासू डिल सरा सार्कीले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ४ गते उजुरी दिएकी थिइन ।
मृतक बालिकाको शव परीक्षण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा फागुन ४ गते नै भएको थियो । प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा फागुन २७ गते कर्तव्य ज्यानसम्बन्धी अभियोग दर्ता गरेको थियो ।