Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

सडक विस्तार गर्दै नारायण नगरपालिका

दैलेख : नारायण नगरपालिका दैलेखले सडक विस्तार अभियान सुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका अवैध संरचना,सार्वजनिक जग्गाहरूमा निर्माण गरिएको संरचना हटाउँदै सडक विस्तारको अभियान सुरु गरेको हो । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नगरपालिका भित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने, सडक पेटी भत्काउने अभियानहरू सुरु गरिएको बताए । उनले बजार क्षेत्रको व्यवस्थित विकासका लागि पूर्ण रूपमा नयाँ सडक विस्तार सँगै सडक निर्माण गरिने बताए ।
दैलेख सदरमुकाम दैलेख बजारमा आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि पनि सडक विस्तार अभियान थालनी गर्नुपर्ने आवश्यकता भएकोले विगत तीन महिनादेखि नगर उपप्रमुख तप्ताकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरी सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संंचरना र बजारको सडक क्षेत्र च्यापेर निर्माण गरिएका सडक पेटीहरूको तथ्याङ्क संकलन गरी अभियान सञ्चालन गरी अभियान सुरु गरेको बताइएको छ ।
नगर प्रमुख शर्माले भने पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडक पेटी र घर टहरा भत्काएसँगै सडक पुनः पिच गर्ने तयारी थालेका छौ । सडक विस्तार अभियान सँगै जिल्लाको सदरमुकामको मुख्य चोक देवकोटा चोकमा रहेको लक्ष्मी प्रसाद देवकोटाको सालिक रहेको र प्रहरीको अगाडीको भवन र जिल्ला समन्वय समितिको एउटा भवन भत्काउन सुरु गरिएको नगर प्रमुख शर्माले जानकारी दिए ।
११ वटा पालिकाको मुख्य केन्द्र र दैलेख जिल्लाको सदरमुकाम भएकोले सवारी चाप व्यवस्थापनसँगै सुन्दर नगरपालिका बनाउने उद्देश्यले यस्तो काम थालनी गरिएको नगरपालिकाले जानकारी दिएको छ । स्थानीय नागरिकले भने सडक विस्तारका नाममा पुराना संरचना भत्काउने र व्यापार व्यवसाय गर्नेहरूका गाडी राख्नका लागी पार्किङ स्थल बनाउने भन्दै विरोध समेत गरेका छन् ।