Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

लोपोन्मुख राउटे र यौनिक अल्पसङ्ख्यकलाई सुविधा दिन कार्यविधि


दैलेख :  गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदाय र गाउँपालिमा रहेका यौनिक अल्पसङ्ख्यकहरूलाई सेवा सुविधा उपलब्ध गराउन कार्यविधि निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा ४३ मा सामाजिक सुरक्षाको हक अन्तर्गत आर्थिक रूपले विपन्न ,अशक्त,असहाय तथा लोपोन्मुख जातीका नागरिकलाई सुरक्षाको हक कार्यान्वयन गर्न राउटे तथा लोपोन्मुख समुदायलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिका –८ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले संविधानको धारा ५१ (९) मा अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोगको अवसर तथा लाभका लागि विशेष व्यवस्था बमोजिम यौनिक अल्पसङ्ख्यकलाई सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ पारित गरेको जानकारी दिए ।

उनले गाउँपालिकामा रहेको यौनिक अल्पसङ्ख्यकहरूको क्षमता,रुचि अनुसार आवश्यक कार्यक्रम कार्यान्वयन गर्न उक्त कार्यविधि निर्माण गरिएको बताए । उनले भने हाम्रो गाउँपालिका –८ को बासिन्दा रहेको राउटे समुदायलाई विभिन्न दातृ निकाय,व्यक्ति वा समूहले सहयोग गर्ने गरेको र त्यसको वास्वबिक रेकर्ड पालिमा नरहने भएको हुँदा अव सहयोग गर्दा पालिकाले निर्माण गरेको कार्यविधि अनुसार गर्नु पर्ने बताए ।

प्रवक्ता ओलीले स्थानीय सरकार बने यता गाउँपालिकाले ७९ वटा कानुन निर्माण गरिएको बताए उनले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै ऐन, नियम, कार्यविधि, निर्माण गरेको बताए । उनले भने गाउँपालिकाको हालै सम्पन्न गाउँ सभाको ११औँ हिउँदे अधिवेशनबाट चार वटा ऐन र २० वटा कार्यविधि पारित गरेका छौ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले अधिवेशन अवधिभर बसेको दुई वटा बैठकले गाउँकार्यपालिकाले सैद्धान्तिक सहमति दिएका ऐन र कार्यविधि पारित गरेको र पारित भएका ऐन र कार्यविधिसहित अब गाउँपालिकामा ७९ वटा ऐन, कार्यविधि निर्माण गरिएको बताए । उनले भने २०७४ निर्वाचित भएका जनप्रतिनिधिले ३४ वटा ऐन, कार्यविधि, निर्देशिका र सूचक निर्माण गरेको र दोस्रो निर्वाचन पछि आएका जनप्रतिनिधिको पहलमा ४५ ऐन र कार्यविधि वटा निर्माण भएका छन ।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार गाउँ सभाको ११औँ हिउँदे अधिवेशनले वन व्यवस्थापन, न्यायिक समिति, गुराँस कर्मचारी सेवा र प्रशासकीय कार्यविधि नियमित,सामुदायिक विद्युत् सञ्चालन तथा व्यवस्थापन, शिक्षा तथा विद्यालय अनुगमन, मदिरा नियन्त्रण, गुराँस संरक्षण तथा व्यवस्थापन, बैठक सञ्चालन कार्यविधि , स्थानीय तहले गर्ने बजार अनुगमन तथा व्यवस्थापन, टोल विकास समिति गठन तथा परिचालन कार्यविधि, राउटे तथा लोपोन्मुख समुदाय र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सुविधा उपलब्ध गराउने सम्बन्धी छुट्टाछुट्टै कार्यविधि, अस्पतालमा फार्मेसी सञ्चालनका लागि कार्यविधि, गुराँस प्रहरी कार्यविधि, सवारी साधन परिचालन, क्यान्टिन तथा सभा हल सञ्चालन, खानेपानी तथा सरसफाइ स्वच्छता, एकल महिला तथा विपन्न नागरिकलाई स्वास्थ्य बिमा, कृषि उपज संकलन केन्द्र सञ्चालन, ज्येष्ठ नागरिक सुरक्षा र गाउँ सभा सञ्चालन कार्यविधि पारित गरेको छ । यस्तै सामाजिक परिचालक तथा पारा सामाजिक कार्यकर्ता परिचालक तथा व्यवस्थापन र सङ्घ संस्था तथा सहकारी व्यवस्थापन कार्यविधि निर्माण भएका छन ।