Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमै अब मिर्गौला प्रत्यारोपण सेवा

सुर्खेत  :   प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो । प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा डम्बर खड्काले कर्णालीका नागरिकलाई प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा दिन अस्पतालले आवश्यक तयारी पूरा गरेको बताए । निर्देशक डा खड्काले मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

यस्तै, तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, प्रदेश अस्पताललाई पाँच सय शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । अस्पतालले आर्थिक वर्ष २०७८÷७९ र आर्थिक वर्ष २०७९÷८० मा गरेको प्रगति विवरण सार्वजनिक गरेको थियो । यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान .शिक्षण अस्पताल) का रूपमा स्तरोन्नतिका लागि छलफल गरिसकेको छ । जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।

हाल दुई सय ९७ शय्याको अस्पतालमा दैनिक औसत चार सय पाँच जना बिरामी भर्ना हुनेगरेको तथ्याङ्क छ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा वि।सं। २०१९ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई वि।सं। २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै वि।सं। २०२९ सालमा १५ शय्या, २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

२०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रूपमा रूपान्तरण भएको थियो । प्रदेश अस्पताल विकास समितिका अध्यक्ष लालबहादुर घलेले कर्णालीमै मिर्गौला प्रत्यारोपण हुनु आम नागरिकका लागि खुसीको कुरा भएको बताए । उनले देशका सीमित अस्पतालमा रहेको सेवा अब कर्णालीमै सुरु गरी कर्णालीका नागरिकलाई सहज सेवा दिन अस्पताल सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।