Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

पत्नी हत्याका कसुर दारलाई जन्मकैद फैसला


दैलेख  :  पत्नी हत्याका कसुर दारलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई आइतबार जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए । घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीस्थित माइतीमा बस्दै आउनुभएकी २१ वषीया सुनिता बिक गोठाला गएको मौका पारी ०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा हत्या गरेको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो ।

जिल्ला अदालत दैलेखका न्यायधिस बलराम लम्सालको एकल इजलासले नियतवश ज्यान मारेको कारण मुलुकी अपराध सहिताको दफा १७७ को उपदफा २ बमोजिम जन्मकैद अर्थात् २५ वर्ष कैद हुने र वैवाहिक बलात्कार ठहर गर्दै सोही ऐनको दफा २१९ अनुसार थप तीन वर्ष कैद हुने ठहर्छ फैसलामा उल्लेख छ । प्रहरी र अदालतमा समेत इन्कार गरे पनि प्रहरी अनुसन्धान, घटना भएको दिन देखिएको साक्षीको भनाई र त्यही दिन तल्लो डुंगेश्वरबाट जिपमा कालिकोट पुग्नुलाई अदालतले सुनिताको हत्या प्रेमबहादुर विकले नै गरेको अदालतले ठहर्छ फैसलामा भनिएको छ ।

२०७६ फागुनमा विवाह गरेका सुनिता र प्रेमबहादुर बीच तीन महिनामा सम्बन्ध बिग्रिएपछि माइतीमा बस्दै आएको बेला श्रीमानले गर्ने व्यवहार, उत्तेजक टेलिफोन संवाद लगायतका घटना क्रमलाई जनाउँदै सुनिताका माइती पक्षले प्रेमबहादुर बिक माथि नै शङ्का रहेको भन्दै हत्या आरोपमा ०७७ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७७ पुस १४ गते दैलेख जिल्ला अदालतमा हत्या र बलात्कार मुद्दा पेस भएकै दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट पुर्पक्षका लागि कारागार थुनामा पठाएको थियो ।