Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

पालिका उपाध्यक्षले दिए अख्तियारमा उजुरी

सुर्खेत  :  हुम्लाको अदानचुली गाउँपालिका सुर्खेतबाट सञ्चालन गरेको आरोपमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी परेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि पालिका अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको आरोपमा पालिका उपाध्यक्ष कर्णबहादुर रोकायाले उजुरी दर्ता गराए हुन् ।

उजुरीमा रोकायाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ५ बमोजिम अनुचित कार्य गरेको विवरण खोली निवेदन दिएको उल्लेख गरेका छन् । उपाध्यक्ष रोकाले दर्ता गराएको उजुरीमा गत असार ३ गते गाउँपालिकाको गाउँसभाले विभिन्न शीर्षकमा विकास योजनामा बजेट विनियोजन गरेको र सो विनियोजित रकम कहाँ, के कति रकम बाँडफाँड गर्ने भनी कार्यपालिकामा कुनै निर्णय नगरी सुर्खेतबाट पालिका चलाइएको आरोप लगाइएको छ ।

यस्तै पालिकाको रकम आफ्नो मनोमानी ढंगले चालु खर्चबाट ३ करोड २१ लाख २२ हजार २ सय ८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५ सय ७४ रुपैयाँ ग्लोबल आईएमई बैंकको सुर्खेत शाखाबाट निकासा गरी हिनामिना गरेको गम्भीर आरोप उजुरीमा लगाइएको छ ।

गाउँसभाको सर्वसहमत निर्णयको अवज्ञा गर्दै गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाको व्यवास्था गरी मनोमानी रकम निकासा गर्ने, र गत भदौदेखि गाउँपालिका कार्यालयमा उपस्थित नै नभई सुर्खेतबाट हाजिर मिलान गरी तलब खाने गरेको उपाध्यक्ष रोकायले दायर गरेको उजुरीमा उल्लेख छ ।

यस्तै सुर्खेतबाट आफ्ना इच्छाइएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी कार्यालयमा हाजिरै नगराई उतैबाट तलबसमेत खुवाएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम अनुचित कार्य गरेको उल्लेख गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापामाथि उल्लेखित रकम कहाँ र कति खर्च भएको हो अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरी हिनामिना भएको रकम शोधभर्ना तथा असुल उपरको गर्न माग दाबी गर्दै उपाध्यक्ष रोकायाले उजुरी गरेका छन् । साभार शिलापत्र