संसदीय दलको नेता बन्न दौडधुप
सुर्खेत : आम निर्वाचन सम्पन्न भएसँगै कर्णालीमा संसदीय दलको नेता बन्नका लागि नेताबीच दौडधुप सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) भित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहेको छ। प्रत्यक्ष र समानुपातिक गरेर १४ सिटसहित पहिलो दलको हैसियत बनाएको कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः संसदीय दलमा दोहोरिने तयारीमा छन । जाजरकोटका राजीबविक्रम शाहले समेत संसदीय दलमा दाबी गरेका छन । मुख्यमन्त्री शाही आफू दलको नेता र मुख्यमन्त्री बन्ने कुरामा दुई मत नभएको बताए । मुख्यमन्त्री शाही कांग्रेस कार्य सम्पादन समितिको सदस्य हुनु भने शाह केन्द्रीय सदस्य हुन ।
१३ सिटसहित दोस्रो दलको हैसियत बनाएको माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्ट दलको नेता बन्ने दौरानमा रहेका छन । शर्मा रुकुम पश्चिम (ख) र विष्ट सुर्खेत २ (ख) बाट निर्वाचित भएका हुन । विष्ट यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका हुन भने शर्मा भने पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।
यता तेस्रो दलको हैसियत बनाएको ९एमाले०भित्र पनि दुई जना आकांक्षी देखिएका छन । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहलाई दल नेताको आकांक्षीको रुपमा हेरिएको छ। कँडेल मुख्यमन्त्री बन्ने चाहना स्वरुप नै आफूभन्दा जुनियर नेतालाई केन्द्रमा पठाएर दोस्रो पटक प्रदेशमा निर्वाचन लडेका थिए । शाह भने निर्वाचनमा आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गर्दै आएका छन । कर्णालीमा एमालेका १० सांसद छन्। यस्तै नेकपा (एकीकृत समावादी) र राप्रपाले प्रदेश सभामा ११ सिट जितेका छन्।