Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

एटिआर–७२ जहाजमार्फत् नियमित काठमाडौ–सुर्खेत् उडान

सुर्खेत  :   निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौँ–सुर्खेत  नियमित उडान गर्ने भएको छ आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको हो । प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी गराए ।

अब बुध्द एयरको एटिआर ७२ जहाजले काठमाडौं–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ। यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो ।

ठूला जहाजमार्फत् उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोगी हुने विश्वास लिइएको छ । एटिआर–७२ जहाजमार्फत् नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ ।