मोतिबन्दिु र रक्त सञ्चार केन्द्र स्थापना गर्न माग
दैलेख : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सांसद सँग जिल्लामा मोतीबिन्दु शल्यक्रिया केन्द्र स्थापना गर्न माग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई जिल्लामा मोतिबन्दिुको शल्यक्रिया केन्द्र र रक्त सञ्चार केन्द्र स्थापनाको पहल गरिदिन माग गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसीले जिल्लामा मोतीबिन्दुको शल्यक्रिया केन्द्र र रक्त सञ्चार केन्द्र नहुँदा नागरिकले सास्ती खेप्नु परेपछि निर्वाचित सांसदहरूलाई आवश्यक पहल गरी दिन आग्रह गरिएको बताए । उनले मोतीबिन्दुको शल्यक्रियाका लागी आवश्यक भवन र हल र अप्रेसन कक्षको स्थापना गरेको भए पनि आवश्यक सामाग्री अभावका कारण जिल्लामा मोतीबिन्दुको शल्यक्रिया हुन नसकेको बताए । उनले भने जिल्ला अस्पतालमा कुनै बिरामीलाई रगत चाहिएको खण्डमा सहजै रूपमा रगत प्राप्त गर्न सकिँदैन नेपाली सेना, प्रहरीको भर पर्नु पर्ने समस्या छ त्यसका लागी ब्लड बैक स्थापना गर्न पनि आफूहरूले माग गरेका छौ ।
प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले जिल्लामा मोतीबिन्दुको शल्यक्रिया केन्द्र र रक्तसञ्चार केन्द्र निर्माणका लागी आफूहरूले पहल गर्ने बताए । कर्णाली प्रदेश सरकारका छ महिना भौतिक पूर्वाधार मन्त्री बनीसकेका थापाले आफूले रकम विनियोजन गर्न खोज्दा नमिल्ने बताए पछि काम नभएको बताए ।
कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित पूर्ण बहादुर खत्रीले आफ्नो पालामा मोतीबिन्दु शल्यक्रिया केन्द्रका लागी आवश्यक पर्ने सामाग्री र रक्त सञ्चार केन्द्र निर्माणका लागी आफूहरूले प्रदेश सरकार बाट हुन सक्ने सहयोग गर्ने बताए ।
अघिल्लो आर्थिक वर्षमा नारायण नगरपालिकाले नगर परिषद् बाट ब्लड बैक स्थापना गर्न आठ लाख रकम विनियोजन गरेको थियो । ब्लड बैक स्थापना गर्न उक्त बजेट जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पठाइएको थियो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका तत्कालीन निमित्त स्वास्थ्य व्यवस्थापक थीर प्रसाद रेग्मीले ब्लड बैक स्थापना गर्न आएको बजेट बाट ल्याव भवनमा सोलर प्यानल र एक जना कर्मचारीलाई तलब खुवाइएको बताए । जिल्लामा मोतीबिन्दुको शल्यक्रिया हुन नसक्दा अधिकांश नागरिक सेवा लिन नेपालगञ्ज जाने गरेका छन् ।