Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

पानीका मुहान संरक्षण सगैँ नयाँ आयोजनाको सर्बेक्षण गर्दै पालिका

दैलेख  :  जिल्लाको गुराँस गाउँपालिकाले गाउँपालिका बासीलाई स्वच्छ पानी खुवाउनका लागी पानीको मुहान संरक्षण र नयाँ आयोजनाको सर्वेक्षण कार्यक्रम अगाडी बढाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा गाउँपालिकाले बृहत् खानेपानी योजना निर्माण गर्न सर्वेक्षण कार्य सुरु गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले एक घर एक धारा निर्माणका लागी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सँग छलफल गरी गाउँपालिका भित्र रहेका पानीको मुहानको खोजी र नयाँ योजनाको सर्वेक्षण गरिएको बताए । उनले गाउँपालिका तीन हजार पाँच सय घरधुरीलाई खानेपानी पु¥याउनका लागी एक अर्ब लागतको बृहत् खानेपानी योजना अगाडी बढाउन योजनाको सर्वेक्षण गरिएको बताए ।
उनले निर्वाचनको बेला जनताका बिचमा स्वच्छ खानेपानी खुवाउने प्रतिबद्धता अनुसार पानीका मुहानको संरक्षण र नयाँ योजना निर्माण लागी पहल गरिएको बताए ।

उनले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा बृहत् खानेपानी आयोजना सञ्चालनका लागी प्राविधिक टोलीले विभिन्न स्थानमा गएर सर्वेक्षणको काम अगाडी बढाएको बताए । वातावरणीय प्रभाव मूल्याङ्कनबिनै निर्माण गरिएका सडक छेउका पानीका मुहान सुख्खा भइसकेका छन् । कतिपय ठाउँमा मुहान पुरिएका छन् भने केही ठाउँमा मुहान भासिएका छन् । प्राकृतिक रूपमा रसाउने मुहान जोगाउन निम्ति पालीकाले विशेष पहल गरिरहेको अध्यक्ष बिसीले बताए ।

उनले भने बस्ती डाँडामा छ अहिले गुराँस गाउँपालिका –५ रानीमत्ताको बजारका लागी गुराँस गाउँपालिका –५ मा रहेको मुहान बाट पानी लिएर खुवाए पनि त्यसले दिर्घकालीन नपुग्ने भएको छ त्यसका लागी लिफ्ट प्रविधि मार्फत भित्री खोल र भद्रे खोला बाट पानी ल्याउने गरी योजना बनाउँछौ ।
गुराँस –५ रानिमत्ताका व्यवसायी देवीराम जैसीले गुराँस गाउँपालिकाले खानेपानीको समस्या भोग्दै आएको बताए । उनले एक मात्र लिफ्ट आयोजना मार्फत ल्याएको पानी कहिले काहीँ बिग्रिँदा पानी बोकेर होटेल व्यवसाय सञ्चालन गरेको बताए । पानी कहिले एक हप्ता सम्म आउँदैन त्यस्तो निकै कठिन हुन्छ व्यापारी जैसीले भने कहिले डवल गैरा भन्दा तल आएर पानी लिनु पर्छ ।