Loading... आजः मङ्लबार, मंसिर २०, २०७९
Trending

कर्णालीमा ३४८ कैदीबन्दी मतदाता


सुर्खेत  :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीका रहेका कारागारका ३ सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । फौजदारी कसुरको अभियोग लाग्नुभन्दा अघि मतदाता नामावली भरेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पामा १४, सुर्खेतमा १ सय १, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७ कैदीबन्दीले मतदान गर्न पाउने छन् । कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए । उनका अनुसार मतदाता नामावलीमा नाम भरेका कैदीबन्दी मतदान गर्नबाट वञ्चित हुने छैनन् ।

सुर्खेत कारागारमा रहेका १ सय १ कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । उनीहरूले समानुपातिक तर्फको संघमा मात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए । उनका अनुसार रुकुम पश्चिमको कारागारमा १ सय २४ कैदीबन्दी भएकोमा ६६ जनाले मतदान गर्नेछन् । कारागार प्रमुख अकवीर घर्तीले रुकुम पश्चिम र पूर्वको गरेर ६६ जनाले मतदान गर्ने जानकारी दिए ।

कारागारभित्रैबाट पनि मतदान गर्न पाउने भए पनि कैदीबन्दी उत्साही छ । कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको जेलरहरूको भनाइ छ । कारागारभित्र निर्वाचनमा मतदान गर्ने विषयमा पनि छलफल हुने गरेको जेलर घर्तीले बताए । मुगुबाहेक कर्णालीका ९ जिल्लामा कारागार छन् ।