विपदबाट प्रभावित परिवारहरूलाई सहयोग
दैलेख : अविरल बर्षातका कारण ज्यान गुमाएका र प्रभावित भएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिका भित्र अविरल बर्षातका कारण मृत्यु भएका र प्रभावित भएकाहरूलाई राहत वितरण गरेको हो । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले निर्माण गरेको बिपद कोष बाट विपद् बाट मृत्यु भएका र प्रभावित भएकालाई राहत स्वरूप आर्थिक सहयोग गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख एव विपद् व्यवस्थापन समितिका संयोजक गणेश बहादुर शाहीले नगरपालिका भित्र बर्षातका कारण समस्या परेका नागरिकलाई सहयोग स्वरूप रकम सहयोग गरिएको बताए । उनले नगरपालिका बाट विनियोजन गरेको दश लाख र सेभ द चिल्ड्रेन बाट छ लाख रकम बिपद कोषमा जम्मा गरेर त्यही बाट रकम सहयोग गरिएको बताए । उनले भने अविरल वर्षाका कारण ७० घर भन्दा बढी पूर्णक्षती एक सय ५० जति घरमा आंशिक क्षति र एक सय भन्दा घरधुरी उच्च जोखिममा र ४० घर विस्थापित भएका छन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम बहादुर रावतले नगरपालिका बाट विपद्का कारण मृत्यु भएका परिवारलाई ३० हजार पूर्ण क्षति भएको घरलाई १० हजार आंशिक क्षति भएका घरपरिवारलाई पाँच हजार रकम सहयोग गरिएको बताए । उनले भने पहिलो चरण ४७ जना घरपरिवारलाई आर्थिक सहयोग गरिएको बताए ।