निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, ०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्कोसिफारिसमा स्वकृति प्रदान गरेको उल्लेख गरिएको छ ।