Loading... आजः आइतवार, बैशाख ७, २०८२
Trending

दलहरूले बुझाए समानुपातिकतर्फको उम्मेदवारको सूची


काठमाडौँ :  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन्। सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। सोही समयावधि भित्र राजनीतिक दलहरूले आफ्ना आफ्ना उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरेका छन्। सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेपाल समाजवादी पार्टी डा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई ५ सिटसहित प्रतिनिधिमा समानुपातिकतर्फ ११० उम्मेदवारहरूको सूची बुझाएको छ ।
त्यस्तै, बन्दसूची बुझाएपछि बोल्दै नेकपा एमालेका नेता निरज आचार्यले विगतका समानुपातिक सूचीमा रहेकाहरूलाई नदोहोर्‍याएको बताए। उनले समानुपातिक सूचीमा कोही पनि पुराना नेताहरू नरहेको उल्लेख गर्दै सबै नयाँ अनुहार रहेको बताए। त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले ११० वटै बन्दसूचीका नाम पेस गरेको बताए। उनले केन्द्रीय पदाधिकारी सबै प्रत्यक्षमा चुनाव लड्ने बताए।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन्। समानुपातिक पद्धतिमा मतदाताहरूले राजनीतिक दललाई मत दिनेछन्। रजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन्।