सय दिनका उपलब्धि सार्वजनिक गर्दै स्थानीय तह
दैलेख : स्थानीय तह २०७९ बाट निर्वाचन भएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । जिल्लाको नारायण नगरपालिका, चानमुण्डाबिन्द्रासैनी नगरपालिका, र गुराँस गाउँपालिका–८ ले आफ्नो कार्यकालमा गरेका एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।
आइतबार नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार नारायण नगरपालिकाको विकासको मार्गमा अगाडी बढेको बताए । उनले नारायण नगरपालिकालाई साँच्चीकै स्वच्छ, सुन्दर व्यवस्थित , विभेद रहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताए । उनले भने नारायण नगरपालिकालाई विकास गर्न अल्पकालीन, मध्ये कालीन र दीर्घकालीन गरी तिन प्रकारका योजना अघि सार्दै आवधिक योजना निर्माणमा लागि रहेका छौँ ।
सार्वजनिक गरेको एक सय दिनका उपलब्धिमा नगरबासीलाई खानेपानीको सुविधा प्रदान गर्न चालु आ.व ०७९।०८० को श्रावण महिनाबाट लागु, धारा जडान गर्न नसक्ने गरिब,असहाय नागरिकहरूलाई निःशुल्क धारा जडान,दक्ष जनशक्ति उत्पादन गर्नका लागि नगर क्षेत्र भित्र रहेका ७ जना विधार्थीहरुलाई डिप्लोमा तहको प्रविधि शिक्षा प्रदान, विद्यालयहरूमा ल्याव व्यवस्थापन, विद्यालयको शिक्षक दरबन्दी मिलान,हाम्रो नारायण हाम्रो पहिचान नामक स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण,प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ,गुनासो सुन्न चार अङ्कको टोल फ्री नम्बर सञ्चालनका लागि स्वीकृति, पालिकामा विगतमा भएका कामहरूलाई चुस्त दुरुस्त बनाउनका लागि उपप्रमुख ज्युको संयोजकत्वमा स्रेस्ता रकम प्रमाणित कार्यदल निर्माण,पालिका भित्र रहेका ऐतिहासिक सम्पदाको संरक्षण प्रवर्द्धन र व्यवस्थापन गर्नका लागि कार्यविधि तयार, सुरक्षित आवास कार्यक्रम अन्तर्गत १० जनाको घर निर्माण, २७ जना मेलमिलाप कर्तालाई लागि अनुशिक्षण, आधारभूत अस्पताल नारायण नगरपालिका वडा न. ५को त्रिवेणी स्वास्थ्य चौकीमा स्थापना गर्नका लागि आवश्यक प्रक्रिया पुरा, बर्थिङ सेवा सञ्चालन, पोषण मैत्री स्वास्थ्य घोषणा लगायतका ३३ वटा उपलब्धि उल्लेख गरिएको छ ।
त्यस्तै जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । चामुण्डाबिन्द्रासैनीका नगर प्रमुख गणेश बहादुर शाहीले नौ वटा उपलब्धि केही दिन अघि सार्वजनिक गरेका थिए । उनले एक सय दिनमा जेष्ठनागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण,गुनासो सुनुवाइका लागि टोलफ्रि नम्बर,सुकुम्वासी समस्यालाई समाधान गर्न भूमि आयोग सँग सम्झौता ,अस्थायी प्रहरी चौकीको स्थापना,शैक्षिक गुणस्तर सुधार गर्न ,नगर शिक्षा ऐन २०७९ र नगर शिक्षा नियमावली २०७९ निर्माण, सार्वजनिक सेवा प्रवाह,नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम,बेशाहारा सँग नगर प्रमुख कार्यक्रम सञ्चालन, सहज रूपमा यातायात सञ्चालन लगायतका कामहरू गरेको उल्लेख गरेका छन ।
त्यस्तै गुराँस गाउँपालिकाका –८ का वडाध्यक्ष दीपेन्द्र ओलीले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन । उनले एक सय दिनमा १२ वटा काम सुरु गरेको विज्ञप्तिमा उल्लेख गरेका छन । कृषि क्याम्पस धरम पोखराको नयाँ भवन निमार्णको काम सुरुवात, पुरानो भवन निमार्णको जिम्मेवार कम्पनीमा ताकेता,प्रहरी चौकी, लालिकाँडाको प्रशासनिक भवन निमार्ण स्थल यकिन, मालिका माध्यमिक विद्यालयको नवनिर्मित,नेपाल भारत मैत्री भवन’ फिनिसिङ, कालिका माध्यमिक विद्यालयमा फर्निचर व्यवस्थापन,बैङ्कसम्म पुग्न नसक्नेको लागि वडा कार्यालयसम्म पनि पुग्न नसक्नेलाई घरमै सामाजिक सुरक्षा भत्ता, बालमैत्री स्थानीय शासन भएको वडा घोषणा लगायतका कामहरू गरिएको उल्लेख गरिएको छ ।