Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एक हजार बढी जेष्ठनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

दैलेख  :   नारायण नगरपालिका दैलेखले नगरपालिकाका ११ वडाका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नारायण नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले नगरपालिका भित्रमा विभिन्न समस्या भोगिरहेका जेष्ठनागरिक , दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी वितरण गरेको बताउनुभयो । उहाँले आइतबार बाट सुरु भएको कार्यक्रमको हाल सम्म एक हजार पाँच सय जना जेष्ठ नागरिक र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो प्रत्येक वडामा रहेका जेष्ठनागरिक र दिर्घरोगीहरुलाई सम्बन्धित वडा कार्यालय वा अन्य विद्यालयमा जम्मा गरेर स्वास्थ्य परीक्षण गरेको र जेष्ठनागरिक सँगै अन्य साधारण नागरिकको समेत स्वास्थ्य परीक्षण गरेका छौ । उहाँले थप्नुभयो एक हजार पाँच सय जेष्ठ नागरिक र अन्य सात सय भन्दा बढी अन्य नागरिकको समेत स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधी वितरण ग¥यौ ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले जनताको स्वास्थ्य प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा जेष्ठनागरिक र दिर्घरोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम,असल आमा प्रोत्साहन कार्यक्रम,गर्भवती सँग उप मेयर भेटघाट कार्यक्रम,गर्भवतीलाई आवश्यक पोसिलो खाने कुरा वितरण जस्ता कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो हाम्रो पहिलो प्राथमिकता नगरपालिकामा देखिएको कुपोषणको अवस्थालाई शून्यमा झार्ने र जेष्ठ नागरिकलाई सम्मान गर्ने नै रहेको बताउनुभयो । उहाँले थप्नुभयो हामीले निर्वाचनको बेला जनताको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्छौ भन्यौ जनताले गठबन्धनलाई मत नदिएर हामीलाई विजयी बनाउनुभयो अहिले त्यही निर्वाचनमा बोलेको कुरा पुरा गरेका हौँ ।

स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर चेकजाँच र आवश्यक औषधी वितरण गर्न थालेपछि जेष्ठनागरि र दिर्घरोगीहरु समेत खुसी भएका छन् । नारायण नगरपालिका १० भवानीका ८३ वर्षीय बली राम बस्नेतले स्वास्थ्यकर्मीले घरमै पुगेर प्रेसर,सुगर,दम लगायतका रोगको चेकजाँच पछि आवश्यक औषधी दिएको बताउनुभयो । उहाँले भन्नुभयो हामी ज्येष्ठ नागरिकका लागि नगरपालिकाले गरेको काम सहनीय छ । जेष्ठनागरिकको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य सेवा कार्यालयमा रहेका चिकित्सक,नारायण नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी बाट चेकजाँच गरिएको नगरपालिकाले जानकारी दिएको छ ।