उम्मेदवारी दिन जाँदा २५ जनासम्मको मात्रै जुलुस लिने पाउँने
काठमाडौँ : निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ। सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन्।
उनले चुनावमा मतदातालाई अनेकौँ प्रलोभनमा पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार–प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए। उनले निर्वाचनमा उम्मेद्वार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए।
सञ्चारकर्मीहरुले निर्वाचनमा उम्मेद्वार लिएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धनलक्षित देखियो भन्ने प्रश्नको जवाफमा उनले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यवहारिक रुपमा ठीक नभएको बताए। उनले जुन पार्टीको उम्मेद्वार निर्वाचनमा भाग लिन्छ, त्यही पार्टीको निर्वाचन चिह्न मात्रै राख्ने आयोगको धारणा भएको भन्दै कुनै दललाई लक्षित गरेर गर्न नखोजिएको स्पष्ट पारे।
प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिए। उनले आयोजले राजनीतिक दलका सबै सुझावहरुलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए।
उनले भने, ‘आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचारसंहिता परिमार्जन, संशोधन गर्नको लागि राजनीतिक दलहरुसँग छलफल भएको छ। छलफलमा राजनीतिक दलहरुबाट मिश्रित सुझावहरु प्राप्त भएका छन्। सबै सुझावहरुलाई मनन् गरेर, विश्लेषण गरेर आयोगले राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ।