४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी
सुर्खेत : वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय, सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले कार्यालयकै ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन् । सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियूषराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएको मृतकका आफन्तले बताए।
लामिछाने वनसम्बन्धी मुद्दामा बिहीबार पक्राउ परेका थिए । वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय लामिछानेको वन कार्यालय पुर्याएपछि बिहीबार अपरान्ह मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागी किटानी जाहेरी दिएका हुन् ।
घटनापछि आफन्तको दबाबमा शुक्रबार सोही विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्टसहितको टोली वन मन्त्रालयमा छानबिनका लागि समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि मुख्यमन्त्री कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताए । उक्त छानबिन समितिको छानबिन प्रतिवेदन र शव परीक्षणको रिपोर्टका आधारमा थप कानुनी प्रक्रिया लैजाने प्रजिअ रिजालले बताए । उक्त समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । डिभिजन वन कार्यालयले भने मदन भण्डारी राजमार्गमा निर्माण गर्दा कटान गर्नु पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
किटानी जाहेरी दिइएका सहायक वन अधिकृत वाहेक अन्य ३ जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको छ । सहायक वन अधिकृत पनि साँझसम्म प्रहरी सम्पर्कमा आइसक्ने डिवजन वन कार्यालयले जनाएको छ ।