Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन

दैलेख  :  जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याइएको हो। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रमको सुरुवात गरेका हुन्। हालै सम्पन्न निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा सुन्दरकुमार केसी र उपाध्यक्ष कलावती न्यौपानेले निर्वाचित भएका थिए।

चालु आर्थिक वर्ष सुरु भएको महिना दिन नबित्दै गाउँपालिकाले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। गाउँपालिकामा ६ वटा वडा छन्। हरेक वडामा वार्षिक दुई पटक कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र खड्काले बताए। कार्यक्रममा सहभागी नागरिकहरूले बाढी र पहिरोले खेतबारीमा क्षति पुर्‍याएको, सडकका कारण घर तथा बस्तीमा क्षति पुगेको गुनासो गरेका छन्।

निर्वाचित भइसकेपछि जनताका समस्या र आवश्यकता जनताकै माझमा गएर सुन्न र जवाफदिन प्रत्येक महिना एउटा वडामा जनतासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कामको थालनी गरिएको अध्यक्ष सुन्दर केसीले बताए।

‘एक पटक जितेर गएपछि जनप्रतिनिधिहरू फर्केर हेर्दैनन् भन्ने जनताको गुनासोलाई हामीले सम्बोधन गर्दैछौं, जनताको मत पाएर जितेपछि हामीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘जनतासँगको प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकताहरू पहिचान हुनेछन्।’

उपाध्यक्ष कलावती न्यौपानेले जनताका आवश्यकता बुझेर र उनीहरूका प्राथमिकता पहिचान गरी सोहीअनुसार कार्यक्रम सञ्चालनमा ल्याइने बताइन्।
कार्यक्रममा जनताका स–साना आवश्यकतादेखि स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, गाउँपालिकालाई कसरी समृद्ध बनाउने, स्थानीय मागमा आधारित कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष न्यौपानेले बताइन्। साभार ज्वाला सन्देश