Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

नाम सच्चाउन कविरामले दिए जिल्ला प्रशासनमा निवेदन


दैलेख  :  नेपाली नागरिकतामा कुकुर कामी नाम उल्लेख गरिएका कविराम कामीले नाम सच्चाउन माग गर्दैै निवेदन दिएका छन् । भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविरामले मंगलवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर दिएको निवेदनमा उनले कविराम कामी उल्लेख गरी नागरिकताको प्रतिलिपी दिन आग्रह गरेका छन् ।

उनले दिएको निवेदनमा भनिएको छ ‘मलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएको तर २०४६ मा गाउँमा खटिएको नागरिकता टोलीबाट नागरिकता लिँदा गाउँका मानिसहरुले जिस्क्याएर भन्ने गरेको नाम ‘कुकूर कामी’ राखेर प्रधानपञ्चले सिफारिस लेखेको आधारमा कुकूर कामी नै लेखी नागरिकता दिएकोमा मलाई यो नामले हिनताबोध र अपमान भईरहेको छ ।’ कविरामले वडा कार्यालयको सिफारिस, आवश्यक कागजातसहित प्रक्रिया पु¥याएर निवेदन दिएका हुन् । २०४६ जेठ ७ गते गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकूर कामी’ नाम राखेर उनलाई नेपाली नागरिकता थमाएको थियो ।

कुकूर कामीसहित दलित समुदायका अन्य व्यक्तिहरुको नागरिकतामा अपमानजनक शव्द उल्लेख गरी नागरिकता दिईएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकाे थियो । त्यसयता संघीय संसदमा समेत सांसदहरू तथा अधिकारकर्मीहरुले यस्ता नाम सच्याउनुपर्ने माग गरेका थिए ।साभार ज्वाला सन्देश