जिससमा सम्मान जनक सिट बाडफाड गर्ने
दैलेख : जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनमा रहेका तीन दलहरुले सम्मानजनक सिट बाँडफाँड गर्दै एकमत भएर जाने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबिच सम्मानजनक सिट बाँडफाँड गर्ने सहमती भएको हो ।
काँग्रेस सभापति मणिराम रेग्मीको अध्यक्षतामा बसेको तीन दलीय गठबन्धन दलको बैठकले जिल्ला समन्वय समितिमा तीन वटै पार्टीका लागि सम्मानजनक सिट बाँडफाँड गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नौमूले, भगवतीमाई र महाबु गाउँपालिका लगायत गठबन्धनले जितेका पालिकामा एक आपसमा सहयोग गर्ने र गठबन्धनलाई थप उचाइमा पुराउँदै आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनसम्म लैजाने निर्णय भएको नेपाली काँग्रेसका पार्टी सभापति मणिराम रेग्मीले जानकारी दिए ।
नेकपा एमालेले भने अन्य कुनै दललाई जिल्ला समन्वय समितिको प्रमुख पद दिएर भएपनि गठबन्धन तोड्ने कसरतमा लागेको छ । नेकपा एमालेका नेता रत्न बहादुर खड्काले भने हामी संख्याका हिसावले पहिलो पार्टी हौ हामीलाई दुई मतको आवश्यकता छ हामी अन्य दललाई प्रमुख दिएर भएपनि अन्य पदमा सहमती गरेर जाने गरी विभिन्न दलसंग परामर्श गरेका छौ ।
जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यही जेठ २६ गते हुने भएको छ । जेठ २१ गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया २६ गते मतदान भएर सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार २३ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ । जेठ २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।
यस्तै, २४ गते नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ । जेठ २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ पालिका रहेको दैलेखमा जिल्ला समन्वय समिति निर्वाचनमा २२ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला समन्वय समितिको प्रमुख बन्न १२ मत आवश्यक पर्छ । जिल्लामा नेपाली काँग्रेससँग ९, माओवादी केन्द्रसँग २ र एकीकृत समाजवादी पार्टीसँग १ मत छ भने एमालेसँग १० मत रहेको छ ।