Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

जीर्ण पोल फेर्दै विद्युत् प्राधिकरण

दैलेख  :  विद्युतीय जोखिम बढेपछि बजार क्षेत्रका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्रमा रहेका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बिद्युत वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।

नेपाल बिद्युत प्राधिकरण विद्युत् वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जीर्ण अवस्थामा रहेका सदरमुकामका पोलहरू हटाउने अभियान अन्तर्गत २० वटा जीर्ण पोलहरू हटाएर नयाँ पोल राखिएको जानकारी दिए । उनले जीर्ण पोलका कारण विद्युतीय जोखिम बढ्ने र बजार क्षेत्रको सुन्दरतालाई समेत असर गरेपछि आफूले उक्त अभियान सञ्चालन गरेको बताए । उनले भने यो वर्ष बजार क्षेत्रका जीर्ण पोल ,ट्रान्समिटर र तार आवश्यकताका आधारमा हटाउने काम सुरु गरिएको र आउने आर्थिक वर्ष बाट जिल्लाभर उक्त अभियान सञ्चालन गरिने छ ।

मुख्य लाइनका होचा तथा जीर्ण तथा गाडीले ठक्कर दिएर ढल्न लागेका विद्युतीय पोल हटाएर लाइनको स्तरोन्नति गरेको पाण्डेले जानकारी दिनुभयो । बजारमा रहेका जीर्ण पोल सँगै नाङ्गो तार विस्थापित गरी कालो (कर्वड कन्डक्टर ) तार समेत राखिएको विद्युत् वितरण केन्द्रले जानकारी दिएको छ । उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश पौड्यालले बजार क्षेत्रका व्यापारीका लागि जोखिम बढेपछि आफूहरूको आग्रहमा पोल तथा तार व्यवस्थित कार्य अगाडी बढाएको भन्दै विद्युत् कार्यालयलाई धन्यवाद दिएका छन ।